काठमाडौं । इन्द्रजात्रा (येँया) बुधबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको मानिन्छ ।
आठ दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा छ । विशेषगरी आजको दिनलाई ‘उपाकु’ भनिन्छ ।
आज साँझ नेवार समुदायले मृतकको सम्झनामा बत्ती (पाल्चाः) बाल्दै नगर परिक्रमा गर्ने परम्परा पनि रहिआएको छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा इन्द्रध्वजा (यःसिं) ढालेपछि जात्रा समापन भएको मानिन्छ ।
हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिं उठाइएको हो । उठाइएको यसिंमा ८ वटा काठका टुक्रा राख्ने चलन छ । यस कार्यमा न्हय्स नाय, चस्वाद्वँ टोलका मानन्धर समुदाय अनिवार्य उपस्थित हुने चलन छ । अष्टमातृकाको प्रतीकका रुपमा काठका टुक्रा राख्ने गरिएको हो । यसलाई ‘लाकासिँ’ भनिन्छ ।
यःसिं उठाउँदा गुर्जुको पल्टनले तोप पड्काएको थियो । यस अवसरमा तलेजु भवानीको प्रतीक स्वरुप सेतो घोडा ल्याउने चलन छ । यस्तै दिप्याखं (देवी नाच) प्रस्तुत गरिएको थियो । यो नाच इन्द्रजात्रामा निकालिने पहिलो नाच हो ।
यःसिं उठाइसकेपछि यसको माथि इन्द्र अङ्कित चिन्हसहितको ध्वजा फहराइयो । यसलाई ‘हलिंपता’ भनिन्छ । ‘हलिंपता’ फहराइसकेपछि मानन्धरहरुले सबैभन्दा पहिले पूजा गर्ने चलन छ । यःसिंको माथि गजुर जस्तै देखिने भोगटे राखिएको हुन्छ । फेदमा इन्द्रको सुवर्ण मूर्ति राखिन्छ । यसको श्रद्धालुहरुले पूजा आराधना गर्ने गर्दछन् ।
‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, वडाध्यक्षसहित जनप्रतिनिधिहरु, स्थानीयबासी र श्रद्धालुहरुको बाक्लो उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?