काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन हुँदैछ । वडा तहको अधिवेशन सम्पन्न भएसँगै कांग्रेसले स्थानीय तहमा नयाँ सांगठनिक नेतृत्व चयनको प्रक्रिया अघि बढाउन लागेको हो ।
केन्द्रीय निर्वाचन समितिले केही छिटपुट स्थानबाहेक देशभरका वडामा अधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सम्पूर्ण वडामा मंगलबार अधिवेशन सम्पन्न भएको छ भने सिरहा, सप्तरी, सर्लाही र पर्साका बाँकी केही वडामा समेत प्रक्रिया पूरा भएको समितिले जनाएको छ । प्राकृतिक विपत्तिबाट प्रभावित रसुवामा भने स्थानीय अवस्था हेरेर केही दिनपछि अधिवेशन गर्ने तयारी गरिएको छ ।
नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट प्रत्येक पालिकामा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव गरी पाँच पदाधिकारी निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।
कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार पालिका अधिवेशनपछि महाधिवेशन प्रक्रिया थप अघि बढ्नेछ र असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?