काठमाडौं । अन्डमान सागरआसपास विकसित भएको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने तरखरमा छ । त्यसको असर नेपालसम्म आइपुग्ने भएकाले समग्र देशव्यापी रूपमा उच्च सतर्कता अपनाइएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
मौसम विज्ञान विभागले उच्च चासोका साथ यसको अनुगमन गरिरहेको छ ,। विभागका अनुसार “चक्रवात कहाँ कसरी ल्यान्डफल हुन्छ, भारततिर गएर नेपाल फर्कन्छ वा सिधै यतै आउँछ भन्ने विषयले नेपालमा त्यसको असर निर्धारण गर्ने भएकाले उच्च सतर्कताका साथ धेरै मौसमी मोडेलको अनुगमन गरिरहेको विभागको भनाइ छ ।
विभागका अनुसार भारतका विभिन्न सहरमा यो वर्षको मनसुन अन्त्य भइसकेको छ । त्यसैले यो नेपालतिर कायम रहेको मनसुनी हावासँगै बंगालको खाडी हुँदै यता आउने सम्भावना प्रबल छ । विभागले विशेष मौसम बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भीषण वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका ६ जिल्लाबाहेक सबै जिल्लामा उक्त प्रणालीको असर पर्ने देखिएको छ । देशका अधिकांश स्थानमा मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ ।
उत्तर अन्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र यतिबेला बंगालको खाडीको मध्य भू–भाग आसपास आइपुगेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा पश्चिमबाट उत्तरपश्चिम दिशातिर सर्ने देखिएको छ । बुधबार भारतको दक्षिण उडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने अनुमान गरिएको छ । प्रणाली बंगालको खाडी हुँदै आएको खण्डमा यसले हिन्द महासगार क्षेत्रमा बन्ने यसले वर्षकै ठुलो चक्रवातको स्वरूप ग्रहण गर्ने विश्व मौसम संगठनको अनुमान छ । उक्त चक्रवातको नाम ‘अर्नव’ भनेर बंगलादेशले प्रस्तावसमेत गरेको छ ।
नेपालमा के छ पूर्वतयारी ?
देशभरका जिल्ला प्रशासन कार्यालयलाई अहिलेदेखि नै पूर्वतयारी गर्दै सतर्क रहन भनिएको छ । सोही अनुसार दुई पटक प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेको छ । त्यहाँ सम्भावित प्रभावित क्षेत्रका देशभरका स्थानीय तहसँगै पर्यटन विभाग, कृषि मन्त्रालयका पदाधिकारीलाई सम्भावित चक्रवातबारे अवगत गराउँदै आवश्यक सावधानीको पहल थाल्न पनि प्राधिकरणले जानकारी गराएको छ । उच्च हिमाली भेगमा भारी हिमपात हुने भएकाले आरोहणका लागि पुगेका पर्यटकलाई जहाँ भए पनि सुरक्षित स्थानमा रहन भनिएको छ । ८ गतेदेखि उता सकेसम्म यात्रा नगर्न र मौसम बुझेर मात्र हिँड्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?