काठमाडौं । भोटेकोशी बाढीले रसुवाको उत्तरगया–५ र नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित फलाखु खोलामाथिको पक्की पुल बगाएपछि स्थानीयवासी काठ र बाँसबाट बनाइएको अस्थायी फड्केबाट जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् ।
पुल बगाएपछि केही समय रसुवा र नुवाकोटबीचको पैदल आवागमनसमेत अवरुद्ध भएको थियो । तत्काल आवागमन सहज बनाउन सुरक्षाकर्मी र स्थानीयवासीको पहलमा फलाखु खोलामाथि काठ तथा बाँस प्रयोग गरी फड्के निर्माण गरिएको हो । फड्के संचालनमा आएपछि दुई जिल्लाबीच पैदल आवतजावत सहज भएको छ ।
बाढीबाट सडक र पुलको संरचना क्षतिग्रस्त भएपछि दैनिक जीवन प्रभावित भएका स्थानीयका लागि फड्के तत्कालको राहत बनेको छ । विशेषगरी रसुवाका उत्तरगया, धैबुङ, लहरेपौवा, जीवजीवे, भोर्लेलगायत क्षेत्रका बासिन्दालाई नुवाकोट हुँदै काठमाडौं तथा अन्य स्थानतर्फ आवतजावत गर्न यसले सहज बनाएको छ ।
फड्के बनेपछि पैदल यात्रुहरू खोलामाथिको अस्थायी संरचना हुँदै वारपार गरिरहेका छन् । बाढीपछि लामो समयसम्म खोलो तर्नसमेत कठिन भएको अवस्थामा फड्केले छुट्टिएका परिवार, विस्थापित तथा स्थानीय बासिन्दाबीचको आवागमनलाई सहज बनाएको छ ।
बाढीले क्षति पुर्याएको सडक सम्पर्क पुनःस्थापनाका लागि फलाखु खोलामा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ । सडक विभागले बेलिब्रिजमार्फत नुवाकोट र रसुवालाई पुनः सिधा सडक सम्पर्कमा जोड्ने काम अघि बढाएको जनाएको छ ।
बाढीले सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि रसुवा–नुवाकोट सडकखण्डमा आवागमन अझै सहज हुन सकेको छैन । त्यसैले अस्थायी फड्के स्थानीयका लागि अहिलेको भरपर्दो पैदल बाटो बने पनि स्थायी पूर्वाधार निर्माण नै यस क्षेत्रका बासिन्दाको मुख्य आवश्यकता बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?