चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा आकांक्षीबीच दौडधुप, विवादरहित नेतृत्व चयन गर्न प्रकाश श्रेष्ठको सुझाव
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन हुँदैछ । वडा तहको अधिवेशनपछि स्थानीय संगठनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै चन्द्रागिरि नगर कांग्रेसमा पनि नगर सभापतिका आकांक्षीबीच दौडधुप बढेको हो ।
चन्द्रागिरि नगर सभापतिका लागि कार्यवाहक सभापति राजेन्द्र विक्रम बानियाँ, वडा नं. ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, पूर्ववडा अध्यक्ष प्रकाश श्रेष्ठ, अधिवक्ता पुरुषोत्तम उदास, नगर सचिव राजेन्द्र महर्जन, रामेश्वर श्रेष्ठलगायत नेताहरू आकांक्षी देखिएका छन् ।
सभापतिका दाबेदार प्रकाश श्रेष्ठले भने पार्टीभित्र विवाद र विभाजनभन्दा सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभएको छ । अहिलेको राजनीतिक परिस्थितिमा पार्टीलाई थप बलियो बनाउन सबै पक्षलाई समेट्न सक्ने नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ ।
श्रेष्ठले चन्द्रागिरिका १५ वडामध्ये प्रदेशगत संरचनाका कारण पाँच वडा नागार्जुन नगरपालिकाअन्तर्गत पर्ने उल्लेख गर्दै ती पाँच वडाबाट आफ्नो पक्षमा सर्वसम्मति जुटेको दाबी गर्नुभयो । बाँकी वडामा सभापतिका आकांक्षी धेरै रहेकाले विवाद बढे त्यसको असर आगामी निर्वाचनमा पर्न सक्ने उहाँले बताउनुभयो ।
आकांक्षा राख्नु मात्र पर्याप्त नहुने भन्दै श्रेष्ठले संगठन संचालनमा फराकिलो सोच, सबै पक्षलाई समेट्ने क्षमता र स्वविवेकबाट निर्णय गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । प्रतिनिधिहरूले व्यक्तिगत लाभभन्दा संगठनको हितलाई प्राथमिकता दिएर नेतृत्व चयन गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले अहिलेको अवस्थामा पार्टी गम्भीर अवस्थामा पुगेको र प्रतिनिधिहरुले पनि नेतृत्व चयन गर्दा सोचेर बुझेर निर्णय गर्न आग्रह गर्नुभयो । श्रेष्ठले पार्टीको संगठन निर्माणका लागि आफुले लामो समयदेखि काम गर्दैआएको र लामो अनुभवको आधारमा पार्टीलाई दिशानिर्देश गर्न आफु सक्षम भएकोले सभापति पदमा आफ्नो दाबी रहेको बताउनु भयो ।
कांग्रेसको नयाँ निर्वाचन व्यवस्थाअनुसार पालिका अधिवेशनबाट सभापति, एक महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच पदाधिकारी निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?