कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, सञ्चालनमा आउन एक साता लाग्ने
काठमाडौं । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुंगा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला÷ठूला ढुंगा थुप्रिएका छन् ।
पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार विष्फोटनका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ दिएन भने सडक सञ्चालनमा ल्याउन करिब एक साता अझै लाग्न सक्ने देखिएको छ । यसको लागि आवश्यक बजेटको समेत व्यवस्थापन गर्नुपर्ने भएको छ यद्यपि आयोजना कार्यालयले सडक खुलाउन निरन्तर काम गरिरहेको बताएको छ ।
पहिरोका कारण सडकबाट नियमित आवतजावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर वैकल्पिक बाटो अर्थात् सडकको भिरतर्फ डोरी लगाएर भर्याङ बनाई यात्रुहरू वारपार गरिरहेका छन् । सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् । सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मानसरोवर दर्शन गर्न जाने यात्रुहरु अलपत्र परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?