काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि फ्लाई दुबईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ । विमानस्थल सञ्चालनमा आएको तीन वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा फ्लाई दुबईको उडानले पोखरेलीमा आशा जगाएको छ ।
दुबईबाट उडेको जहाज बुधबार साँझ सवा ६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र पोखराबाट सवा ७ बजे दुबईका लागि उड्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
यता, फ्लाई दुबईको उडानलाई लक्षित गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायी पनि उत्साहित भएका छन् । उनीहरुले विभिन्न छुट योजना समेत सार्वजनिक गरेका छन् । रेष्टुराँ एन्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट आएका यात्रुलाई पोखराका रेष्टुराँमा छुट दिने जनाएको छ ।
नेपाल नागरिक उड्डनि प्राधिकरणले दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते फ्लाई दुबईलाई अनुमति दिएको थियो । विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा उडान भरिरहेको फ्लाई दुबईको उडानले पोखरामा थप आशा जगाएको पोखरा महानगरपालिकाले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी एक सय ४६ अन्तर्राष्ट्रिय उडान भएका छन् । यहाँबाट हुने अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न सरकारले विमानस्थलमा विभिन्न प्रकारका छुट दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?