काठमाडौं । भोटेकोशी बाढीबाट भएको धनजनको क्षतिको विवरण संकलन गर्न जिल्लामा २५ सदस्यीय तथ्यांक मूल्यांकन समिति गठन भएको छ ।
जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मंगलबार सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको धनजनको प्रारम्भिक क्षतिका विवरण एक महिनाभित्र संकलन गर्न नवगठित मूल्यांकन समितिलाई कार्यादेश दिएको छ ।
समितिमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजना, सहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना, नेपाल इन्टरमोडललगायत २५ सरकारी तथा गैरसरकारी संस्था÷निकायका प्रमुख प्रतिनिधि सदस्य रहेका छन् । समितिको सदस्यसचिवमा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी रहनुभएको छ ।
भोटेकोशी बाढीले रसुवाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । क्षतिको एकिन विवरण संकलन गरी राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन तथ्यांक संकलन समितिले काम गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?