स्थानीयको सहमतिबिनै मातातीर्थ स्वास्थ्य चौकी हस्तान्तरण गर्ने चन्द्रागिरि नगरको निर्णय, वडा नं. ८ मा चर्कियो विरोध
काठमाडौं । चन्द्रागिरि नगरपालिका–८, बौथली चोकमा वर्षौंदेखि संचालन हुँदै आएको मातातीर्थ स्वास्थ्य चौकीको भवन, जग्गा तथा संरचना काठमाडौं जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई हस्तान्तरण गर्ने नगरपालिकाको निर्णयप्रति स्थानीयवासी र वडा जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् । स्वास्थ्य चौकीलाई अन्यत्र सार्ने निर्णयले स्थानीय नागरिकको सहज स्वास्थ्य सेवामा असर पर्ने भन्दै निर्णय तत्काल पुनर्विचार गर्न माग गरिएको छ ।
नगरपालिकाको निर्णयविरुद्ध वडा नं. ८ का स्थानीयवासीले २०८३ भदौ ३ गते बुधबारदेखि स्वतः स्फूर्त रूपमा हस्ताक्षर अभियान संचालन गरेका छन् । तीन दिनमै करिब ५ सय जनाले हस्ताक्षर गरेको अभियानमा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । संकलित हस्ताक्षरसहित स्थानीयवासीले चन्द्रागिरि नगरपालिकाकी कार्यवाहक मेयर बसन्ती श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य चौकी हस्तान्तरण गर्ने निर्णय रोक्न माग गरेका छन् ।
वडा नं. ८ का नागरिकले मातातीर्थ स्वास्थ्य चौकी कुनै नयाँ वा अस्थायी स्वास्थ्य संस्था नभई लामो समयदेखि स्थानीय समुदायलाई स्वास्थ्य सेवा दिँदै आएको यस स्वास्थ्य चौकीसँग यहाँका नागरिकको प्रत्यक्ष सम्बन्ध जोडिएको बताएका छन् । उपस्वास्थ्य चौकीका रूपमा सुरु भएको संस्था क्रमशः स्वास्थ्य चौकीमा स्तरोन्नति हुँदै आएको र पछिल्लो समय सेवा विस्तार गर्ने उद्देश्यले तीनतले नयाँ भवन तथा कम्पाउण्डसमेत निर्माण भइसकेको अवस्थामा उक्त संरचना अन्य निकायलाई हस्तान्तरण गर्ने निर्णयप्रति स्थानीय असन्तुष्ट भएका हुन् ।
स्थानीयवासीले नगरपालिकाले २०८३ वैशाख ३ गते वडा नं. ८ को बैठक, निर्णय वा सहमति नलिई स्वास्थ्य चौकी रहेको स्थान, भवन, जग्गा तथा संरचना काठमाडौं जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई दिने निर्णय गरेको र २०८३ असार २ गते बागमती प्रदेश सरकारसँग स्वास्थ्य चौकीको भवन हस्तान्तरण गर्ने विषयमा सम्झौता गरिएको भन्दै प्रश्न उठाउँदै असन्तुष्ट व्यक्त गरेका छन् ।
स्वास्थ्य चौकी व्यवस्थापन समिति, वडा नं. ८ का नागरिक, राजनीतिक दल, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवाला पक्षसँग पर्याप्त छलफल तथा परामर्श नगरी निर्णय अघि बढाइएको स्थानीयको आरोप छ । उनीहरूले जनताको प्रत्यक्ष सरोकार रहेको स्वास्थ्य संस्थासम्बन्धी निर्णयमा स्थानीय तह र समुदायबीच आवश्यक समन्वय हुनुपर्ने बताएका छन् ।
वडा जनप्रतिनिधिहरूले समेत नगरपालिकाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । वडा नं. ८ मा जनताको प्रत्यक्ष स्वास्थ्य सेवासँग जोडिएको स्वास्थ्य चौकीलाई अन्यत्र सार्ने निर्णय गर्दा वडाको आवश्यकता, स्थानीय नागरिकको धारणा र उपलब्ध भौतिक संरचनाको उपयोगितालाई पर्याप्त रूपमा सम्बोधन नगरिएको जनप्रतिनिधिहरूको भनाइ छ ।
यस विषयलाई स्थानीयले चन्द्रागिरि नगरपालिकाकै मातहतमा रहेको मुलाडाँडास्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसँग पनि जोडेर हेरिएको छ । स्थानीयले नगरपालिकाको स्थानीय स्वास्थ्य सेवा ऐन, २०८२ अन्तर्गत संचालनमा रहेको उक्त आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई १५ शैयाको अस्पतालका रूपमा संचालन तथा सेवा विस्तार गर्ने विषयमा भएको आन्तरिक सहमतिसमेत रहेको अवस्थामा बौथली चोकमा संचालन भइरहेको एलोपेथिक स्वास्थ्य चौकीको भवन र संरचना अर्को निकायलाई हस्तान्तरण गर्ने निर्णय उपयुक्त नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
तीन दिनमै करिब ५ सय जना स्थानीयको हस्ताक्षर संकलन हुनु र त्यसपछि ज्ञापनपत्रमार्फत नगरपालिकाको निर्णय सच्याउन माग गरिनुले वडा नं. ८ मा यो विषयले व्यापक चासो र असन्तुष्टि सिर्जना गरेको देखिन्छ । स्थानीय नागरिक र जनप्रतिनिधिले निर्णय पुनर्विचार गरी सरोकारवाला पक्षसँग आवश्यक छलफल गरेर मात्र स्वास्थ्य संस्थासम्बन्धी थप प्रक्रिया अघि बढाउन नगरपालिकासमक्ष आग्रह गरेका छन् ।
स्वास्थ्य संस्था र त्यससँग जोडिएको पूर्वाधार केवल भवन र जग्गासँग मात्र नभई वर्षौंदेखि नागरिकले प्राप्त गर्दै आएको आधारभूत स्वास्थ्य सेवाको आधार हो । त्यसैले जनताको प्रत्यक्ष स्वास्थ्य सुविधामा असर पर्ने कुनै पनि निर्णय स्थानीयको भावना, आवश्यकता र सहभागितालाई केन्द्रमा राखेर गरिनु पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?