सुरक्षा, स्वास्थ्य, सुशासन र समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बालबालिकाको सुरक्षा, स्वास्थ्य सेवा, चुरे संरक्षण, श्रमिकको बिमा, मानसिक स्वास्थ्य तथा सुशासनलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको विशेष समयमा सांसद राजन गौतमले पछिल्लो समय बालिका तथा छोरी असुरक्षित बन्दै गएका भन्दै बालबालिकाको सुरक्षामा विशेष पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बालबालिकामाथि हुने हिंसा र अपराध नियन्त्रणका लागि राज्यले प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
सांसद गीताकुमारी सेन्दाङले हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । वातावरण संरक्षणसँगै आर्थिक विकासलाई अघि बढाउन हरित अर्थतन्त्रको अवधारणालाई व्यवहारमा लागू गर्नुपर्नेमा उनको जोड छट ।
सांसद रमेशकुमार मल्लले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको बिमा सुनिश्चित गर्नुपर्ने माग गर्दै अनौपचारिक क्षेत्रमा ठूलो संख्यामा श्रमिक कार्यरत रहे पनि उनीहरू सामाजिक सुरक्षा र बिमाको पहुँचबाट बाहिर रहेका भन्दै राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने बताए ।
सांसद रुकेश रञ्जितले सार्वजनिक सम्पत्ति हडप्ने तथा दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षणका लागि राज्यले प्रभावकारी अनुगमन गरी कानुनी कारबाही अघि बढाउनुपर्ने उनको भनाइ छ ।
यस्तै अन्य सांसदहरुले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?