भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका मध्ये २२ जना सम्पर्कमा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १ सय ७१ जनामध्ये २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार बाढीमा परेर प्रदेशका १ सय ७१ जना हराइरहेकामा आजसम्म टेलिफोनमार्फत २२ जना सम्पर्कमा आएका हुन् ।
हालसम्म सप्तरीका ४५, पर्साका ३९, रौतहटका १७, बाराका २३, सर्लाहीका १५, महोत्तरीका १७, धनुषाका पाँच र सिरहाका १० जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पर्साको पोखरिया नगरपालिका–५ का ओजिर अन्सारी, वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका–१२ का रोजितकुमार साह, स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता सम्पर्कमा आएको बताइएको छ ।
त्यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका–४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, बागमती नगरपालिका–६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, इञ्जिनियर विपीनकुमार मण्डल र धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार सम्पर्कमा आएका छन् । उहाँका अनुसार सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी पनि टेलिफोनमार्फत सम्पर्कमा आएका छन् ।
मधेस प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएका सूचना आउने थालेपछि प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण संकलन गर्न थालेको छ । बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण संकलन गर्न थालिएको प्रहरीले जानकारी दिएको छ ।
मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन् । सम्बन्धित परिवार तथा आफन्तले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन, प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?