काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि संक्रमण फैलिन नदिन समाधिस्थ गर्ने निर्णय गरेको हो ।
जिल्लामा नारायणी र त्रिशूली नदी किनारबाट संकलित २ सय ३३ शवमध्ये चार वटाको मात्रै पहिचान भएको छ भने बाँकी २ सय २९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
तत्कालीन व्यवस्थापकीय प्रबन्धमार्फत राखिएका शवहरू दुर्गन्धित बन्दै गएपछि स्वास्थ्य संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको रायअनुसार जिल्ला सुरक्षा समितिको बैठकले शव जमिनमुनि गाडिने निर्णय गरेको बताइएको छ ।
प्रशासनले पहिचान नभएका र बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित तथा कानुनी रूपमा व्यवस्थापन गरिने जनाएको छ । प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, “सम्भावित संक्रमणको जोखिमबाट बच्न बाध्यात्मक विकल्पका रूपमा जिल्ला सुरक्षा समिति चितवनको आजको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शवको जमिनमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।”
निर्णयअनुसार सबै शवको डिएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ । त्यसपछि भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?