विपदमा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको पहल, निःशुल्क राहत सामग्री ढुवानी गर्ने निर्णय
काठमाडौं । भोटेकोशी बाढीबाट उत्पन्न विपदको समयमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकलाई सहयोग गर्ने उद्देश्यले नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले राहत ढुवानीमा सक्रियता देखाएको छ ।
समितिका अध्यक्ष अमर श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विपदबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री निःशुल्क ढुवानी गर्ने निर्णय गरेको हो । समितिले मानवीय सेवाको भावनासहित राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउन आफ्ना ट्रिपर, ट्रक तथा मिनिट्रकमार्फत सहयोग गर्ने जनाएको छ । बैठकले वरिष्ठ उपाध्यक्ष हेमराज श्रेष्ठको नेतृत्वमा ढुवानी उपसमिति गठन गरेको छ ।
उपसमितिले बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित परिवारका लागि खाद्यान्न, पानी, कपडा तथा आवश्यक राहत सामग्री सम्बन्धित स्थानसम्म पुर्याउन निःशुल्क ढुवानी सेवा उपलब्ध गराउने जनाएको छ । विपद्को समयमा राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा जाने सवारी साधनलाई आवश्यक सहजीकरणसमेत गरिने समितिको भनाइ छ ।
समितिले “मानव सेवा नै हाम्रो धर्म” भन्ने भावनालाई आत्मसात् गर्दै विपद्को घडीमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको ठहर गर्दै राहत वितरणमा संलग्न संघ–संस्था, स्थानीय तह तथा अन्य सरोकारवालालाई आवश्यक सहयोगका लागि समितिसँग समन्वय गर्नसमेत आग्रह गरेको छ ।
“बाढीपीडित तथा विपद् प्रभावितका लागि राहत सामग्री निःशुल्क ढुवानी कार्यक्रम” का लागि समितिले ०१–५९७१७१२ तथा मोबाइल नं. ९८५१४५००१२ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?