बाढीपहिरोले पृथ्वीराजमार्गसहित देशभरका १२ भन्दा बढी सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले पृथ्वीराजमार्गसहित देशका विभिन्न स्थानमा १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । पहिरो, खहरेखोलाको लेदो र सडकमा बढेको पानीको बहावले मुख्य राजमार्ग तथा करिडोरमा यातायात आवागमन प्रभावित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोले सडकको दुवैतर्फको आवागमन बन्द भएपछि उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन रोकिएका छन् ।
त्यस्तै, काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत पिनथली र गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर आउँदा बीपी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ । प्रहरीले उक्त सडकखण्डमा बिहान ५ बजेदेखि आवागमन ठप्प भएको जनाएको छ ।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि यातायात सञ्चालन हुन सकेको छैन । ललितपुरस्थित बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न स्थानमा समेत वर्षाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । बल्खुस्थित सुन्दरीघाट क्षेत्रमा पानीको बहाव बढेपछि करिडोरको सडकमा आवागमन पूर्णरूपमा रोकिएको छ ।
त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा लेदोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ कासिबनमा ढुङ्गासहितको पहिरो खसेपछि सोही करिडोरको पक्की सडकखण्डमा समेत यातायात बन्द भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चामा नाग्म–गमगढी सडकखण्ड पनि अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
वर्षा र पहिरोले देशका विभिन्न राजमार्गमा एकैसाथ आवागमन प्रभावित भएपछि यात्रु तथा सवारीसाधनलाई समस्या भएको छ । सडक अवरुद्ध भएका स्थानमा यातायात संचालनका लागि अवरोध हटाउनुपर्ने अवस्था रहेको छ । प्रहरीले सडकको अवस्था राम्रोसँग बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?