बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक सम्पर्कविहीन, उद्धारको तयारी
काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका भ्रमणमा गएका दुई जना पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन् । बडीमालिका भगवतीको दर्शन गरेर फर्कने क्रममा उनीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेको जनाएका छन् । उनीहरू कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको समूह बनाएर बडीमालिका गएका थिए । समूहका तीन जना भने बडीमालिका पुगेर फर्किसकेका छन् ।
चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका मन्दिरको दर्शन गरेर फर्किने क्रममा शुक्रबारदेखि मनिष बोहरा सम्पर्कविहीन भएका थिए । त्यसपछि सागरसँग पनि गएरातिदेखि सम्पर्क हुन नसकेको प्रहरी निरीक्षक शाहीले जानकारी दिएका छन् । सागरले पछिल्लो पटक फोन सम्पर्क हुँदा फर्किने क्रममा साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको जानकारी गराएका थिए ।
प्रहरीले लगातारको वर्षा र उच्च हिमाली क्षेत्रमा परेको भारी हिमपातले मनिष हराएको तथा सागरसमेत हिउँमा फसेर सुरक्षित स्थानतर्फ झर्न नसकेको हुनसक्ने आशंका गरिएको छ । दुवै जनाको मोबाइल फोन बन्द रहेकाले उनीहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुन सकेको छैन ।
शुक्रबारदेखि जिल्लाका उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात भइरहेकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ । सम्पर्कविहीन दुवै पर्यटकको खोजीका लागि सदरमुकाम मार्तडीबाट प्रहरी टोली परिचालन गर्ने तयारी भइरहेको सूचना अधिकारी शाहीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?