स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लामै प्रथम
काठमाडौं । काठमाडौं जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०८२-०८३ मा संचालन गरेका स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य क्षेत्रको समग्र कार्यसम्पादन मूल्यांकनमा चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंले गरेको मूल्यांकनमा नगरपालिकाले ७५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाका स्थानीय तहमध्ये प्रथम स्थान हासिल गरेको हो ।
नगरपालिकाले स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम संचालन तथा स्वास्थ्य क्षेत्रका गतिविधिमा गरेको कार्यसम्पादनका आधारमा यो उपलब्धि हासिल गरेको जनाइएको छ । जिल्लास्तरीय मूल्यांकनमा पहिलो स्थान प्राप्त गर्नुलाई नगरपालिकाको स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यान्वयनमा भएको प्रगतिको उपलब्धिका रूपमा लिइएको छ ।
यस उपलब्धिप्रति चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा सम्बन्धित पक्षप्रति आभार व्यक्त गरेको छ । चन्द्रागिरि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपालीले स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्न सहयोग, समन्वय र सहकार्य गर्ने सबैको योगदानका कारण नगरपालिकाले यो स्थान हासिल गर्न सफल भएको बताउनु भयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा प्राप्त यो उपलब्धिलाई निरन्तरता दिँदै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने जिम्मेवारीसमेत नगरपालिकासामु रहेको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?