काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको हाइस ठोक्किएको थियो । त्यसलगत्तै हाइसको पछाडिबाट आइरहेको मोटरसाइकलसमेत ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना नेपाल आयल निगमको डिपो नजिक भएको हो ।
दुर्घटनामा ट्यांकर र हाइसका चालक, मोटरसाइकल चालक तथा हाइसमा सवार यात्रुहरू गरी १० जना घाइते भएका छन् । घाइते हुनेमा ट्यांकर चालक बारा जितपुर सिमरा–१६ का ५० वर्षीय चेतनाथ खरेल, हाइस चालक कास्की पोखराका ३८ वर्षीय आशिष मल्ल र मोटरसाइकल चालक सुनसरी धरान–१६ का २४ वर्षीय सरोज गुभाजु रहेका छन् ।
त्यसैगरी हाइसमा सवार वीरगन्जकी ४५ वर्षीया समिना खातुन र उनकी २५ वर्षीया छोरी सखीना खातुन, जितपुर सिमराकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा–१८ का ४३ वर्षीय मनोज थापा क्षेत्री, भारत बिहारका ७० वर्षीय नवल किशोर साह, बाराको प्रसौनी–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार र भारत पश्चिम बंगालकी २६ वर्षीया साबनी दास घाइते भएका छन् ।
प्रहरीले घाइते सबैको अवस्था सामान्य रहेको जनाएको छ । उनीहरूको अमलेखगन्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न ट्यांकर, हाइस र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अमलेखगन्जमा राखिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?