आधुनिक भाँडाकुँडाको बढ्दो प्रयोगसँगै हराउँदै काठका परम्परागत सामग्री
काठमाडौं । बदलिँदो जीवनशैली र आधुनिक सामग्रीको बढ्दो प्रयोगसँगै भोजपुरका गाउँघरमा प्रचलनमा रहेका परम्परागत काठका सामग्रीको उपयोग घट्दै गएको छ । कुनै समय दूध, दही र घिउ राख्न घरघरमा प्रयोग हुने ठेकी, हर्पे र दुदेराजस्ता सामग्री अहिले क्रमशः विस्थापित हुँदै गएका छन् ।
पहिले विशेषगरी पशुपालनमा संलग्न परिवारका लागि काठबाट बनेका सामग्री दैनिक जीवनका अभिन्न साधन थिए । स्थानीयस्तरमै उपलब्ध काठ प्रयोग गरेर आवश्यक भाँडाकुँडा निर्माण गर्ने चलन थियो । दूध तथा दुग्धजन्य पदार्थ भण्डारण गर्न प्रयोग गरिने यी सामग्री ग्रामीण जीवनशैलीका आधार मात्र नभई स्थानीय सीप, अनुभव र मौलिक पहिचानका प्रतीकसमेत थिए । तर पछिल्लो समय बजारमा प्लास्टिक, धातु तथा अन्य आधुनिक सामग्री सहजै उपलब्ध हुन थालेपछि काठका परम्परागत भाँडाकुँडाको प्रयोग घट्दै गएको छ ।
टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय रामबहादुर विष्टले पहिले गाउँघरमा व्यापक रूपमा प्रयोग हुने काठका सामग्री बनाउने चलन अहिले निकै कम भएको बताउनु भयो । आधुनिक विकल्पको सहज उपलब्धताले परम्परागत सामग्रीको माग घटाएको र त्यससँगै पुस्तौँदेखि अभ्यास हुँदै आएको निर्माण सीपसमेत हराउने जोखिम बढेको उहाँको भनाइ छ ।
स्थानीय स्रोतसाधनको उपयोग र परम्परागत ज्ञानसँग जोडिएका यस्ता सामग्रीको संरक्षण गर्न आवश्यक रहेको स्थानीय जानकारहरू बताउँछन् । उहाँहरुले परम्परागत सीपलाई प्रोत्साहन गर्ने, काठका सामग्रीको उपयोगबारे जानकारी फैलाउने र नयाँ पुस्तालाई निर्माण प्रक्रियामा सहभागी गराउन सके मौलिक सम्पदाको निरन्तरतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्छन् ।
काठका परम्परागत सामग्री केवल घरायसी प्रयोजनका वस्तु मात्र नभई ती ग्रामीण समाजको इतिहास, सीप र जीवनपद्धतिका साक्षी पनि हुन् । तिनको संरक्षणले पुरानो जीवनशैलीको सम्झना मात्र होइन, स्थानीय ज्ञान र सांस्कृतिक पहिचानलाई भावी पुस्तासम्म पुर्याउने अवसरसमेत प्रदान गर्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?