बाढीपीडित गोसाईकुण्डका नागरिकलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण
काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण विस्थापित भई हाल काठमाडौंस्थित होल्डिङ सेन्टरमा बस्दै आएका गोसाईकुण्ड गाउँपालिका वडा नं. २, टिमुरेका बासिन्दाहरूलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।
विपद्का कारण घरबार गुमाई कागजातसमेत बाढीले बगाएपछि दैनिक जीवनयापन र सरकारी सेवा लिन कठिनाइ भोगिरहेका पीडितहरूलाई राहत र पुनस्थापना सहज बनाउने उद्देश्यले होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको हो । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।
उक्त प्राकृतिक विपत्तिमा परी आफ्नो सम्पूर्ण चलअचल सम्पत्तिको साथै नागरिकता र अन्य पहिचानका कागजात गुमाएका टिमुरेका नागरिकहरूलाई गोसाईकुण्ड गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय रसुवाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको हो । बाढी प्रभावित नागरिकहरूलाई राज्यको उपस्थिति महसुस गराउँदै सरकारले राहत र पुनस्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?