अमेरिकाबाट कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत नेपाल ल्याइएको लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार २०८३ कार्तिक १० गते अमेरिकाबाट कुरियरमार्फत डकुमेन्टको आवरणमा पठाइएको गाँजा बरामद गरिएको थियो । कुरियरबाट आएको उक्त सामग्रीको जाँच गर्ने क्रममा १ किलो ३ सय ३८ ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवर्सिंह र ३३ वर्षीय वन्दित पटेल पक्राउ परेका हुन् । प्रहरीका अनुसार दुवै जनाको ठेगाना अहमदाबाद क्षेत्रसँग सम्बन्धित रहेको छ । प्रहरीले उनीहरूको साथबाट गाँजासहित दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
अमेरिकाबाट कुरियरमार्फत आएको सामग्रीको आवरणमा लागूऔषध फेला परेपछि प्रहरीले यसमा संलग्न व्यक्तिहरूको भूमिका तथा लागूऔषध ओसारपसारको सम्भावित सञ्जालबारे अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?