काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ बाट सोमबार बरामद गरिएको चाँदी ६८ किलोभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चेकपोष्ट क्षेत्रमा विभिन्न किसिमका चाँदीका तयारी गरगहनाहरू भन्सार छली चोरी पैठारी गरी ल्याई अवैध रूपमा बिक्रीवितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा उक्त स्थानमा छापा मार्दा सो परिमाणको चाँदीका गरगहना बरामद भएको हो ।
बरामद सामग्रीमा चाँदीका औँठी, सिक्री, बाला, ब्रासलेट, झुम्का, पाउजु, बिछिया, ब्रुच तथा पिनलगायतका सामग्री रहेका छन् । त्यस्तै, चाँदीका विभिन्न डिजाइनका गहना बनाउने सामग्रीसमेत बरामद गरिएको छ ।
सोही क्रममा पक्राउ परेका भारतको विहार राज्यका १९ वर्षीय अमन सर्राफलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका सर्राफमाथि भन्सार छली तथा चोरी पैठारीसम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?