काठमाडौं । विजयादशमीको अवसरमा भक्तपुरस्थित प्रसिद्ध ब्रह्मायणी मन्दिरमा लाग्ने परम्परागत जात्रामा भक्तजनको चहलपहल बढेको छ । नवदुर्गा शक्तिपीठका रूपमा श्रद्धा गरिने ब्रह्मायणी मन्दिरमा दर्शन तथा पूजाआजा गर्न भक्तजनको भीड लागेको हो ।
स्थानीय धार्मिक विश्वासअनुसार विजयादशमीका दिन ब्रह्मायणी मन्दिरमा त्रिपुरासुन्दरी तथा नवदुर्गाको विशेष उपस्थिति रहने मान्यता छ । यही आस्थाका कारण प्रत्येक वर्ष यस दिन मन्दिर परिसरमा भव्य मेला लाग्ने गर्दछ । भक्तपुरका विभिन्न बस्तीबाट स्थानीयवासी धिमेबाजासहित सहभागी हुँदै मध्यरातिदेखि नै मन्दिर पुग्ने परम्परा छ ।
यस जात्राको विशेष पक्ष शरीरलाई कष्ट दिएर गरिने धार्मिक साधना पनि हो । व्रत बसेका कतिपय भक्तजन घरदेखि मन्दिरसम्म घस्रिँदै वा शरीर पल्टाउँदै पुग्ने गर्छन् । केहीले शरीरमा पाँच, सात वा १८ वटा दियो बालेरसमेत धार्मिक यात्रा पूरा गर्ने परम्परा निर्वाह गर्छन् । यस्ता अनुष्ठानबाट मनोकामना पूरा हुने र पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।
नेवार समुदायमा विजयादशमीका दिन ‘मोहनी नखः’ मनाउने चलन छ । घरमा कालो टीका ग्रहण गरेपछि परिवारका सदस्यले पूजासामग्री लिएर ब्रह्मायणी मन्दिर पुग्ने परम्पराले यस जात्रालाई थप विशिष्ट बनाएको छ । मन्दिरमा जमरा, हाँसको फूललगायतका सामग्री चढाउने तथा परम्पराअनुसार पशुबलि दिने चलनसमेत रहेको छ ।
ब्रह्मायणी मन्दिरमा दर्शन गर्न भक्तपुर नगर तथा मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल र गुण्डुललगायतका क्षेत्रबाट श्रद्धालु आउने गर्छन् । यसबाहेक काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकबाट समेत भक्तजन सहभागी हुने परम्परा छ । जात्राले विभिन्न स्थानका मानिसलाई एउटै धार्मिक तथा सांस्कृतिक आस्थामा जोड्ने गरेको छ ।
यस वर्षको जात्रा सुरु हुनुअघि मंगलबार साँझ नवदुर्गा मन्दिरमा पालिएको महिषासुर दैत्यको प्रतीक मानिने ‘खःमेय’ अर्थात् राँगोलाई ब्रह्मायणी मन्दिरतर्फ लगिएको थियो । स्थानीय परम्पराअनुसार राँगोलाई जाँड खुवाएर, अबिर तथा तेल दली दौडाउँदै र लखेट्दै मन्दिर पुर्याइन्छ । त्यहाँ गरिने वधसँगै जात्राको मुख्य धार्मिक गतिविधि अघि बढ्ने मान्यता छ ।
धार्मिक आस्था, नेवारी मौलिक संस्कृति र सामुदायिक सहभागिताको संयोजनका रूपमा परिचित ब्रह्मायणी जात्रा भक्तपुरको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ । पुस्तौँदेखि चल्दै आएको यस परम्पराले स्थानीय सम्पदा र सांस्कृतिक निरन्तरताको महत्त्वलाई उजागर गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?