आज विजयादशमी, मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिइँदै
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैँको मुख्य दिन विजयादशमी आज देशभर श्रद्धा, उल्लास र पारिवारिक आत्मीयताका साथ मनाइँदैछ । यस अवसरमा हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको प्रसादका रूपमा टीका, जमरा तथा प्रसाद ग्रहण गरी ज्येष्ठ र मान्यजनबाट आशीर्वाद लिदैं छन् ।
नवरात्रभर विधिपूर्वक दुर्गा भवानीको पूजा–आराधना गरेका भक्तजनले आज देवीको विसर्जनपछि घरपरिवारका अग्रज तथा आफन्तबाट टीका र जमरा लगाउने गर्छन् । दशैँको यो दिन पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र शुभकामना आदानप्रदानको विशेष अवसरका रूपमा समेत लिइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको टीका ग्रहणका लागि उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको जनाएको छ । त्यस्तै, देवी विसर्जनका लागि बिहान ८ बजेर ४९ मिनेटको समय निर्धारण गरिएको छ ।
धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले सर्वसाधारणले मान्यजनबाट टीका ग्रहण गर्न अनिवार्य रूपमा विशेष साइत कुर्नु नपर्ने बताउनु भएको छ । यस वर्ष चन्द्रमा कुम्भ राशिमा रहने भएकाले टीका लगाउने व्यक्ति पश्चिमतर्फ र टीका लगाइदिने व्यक्ति पूर्वतर्फ फर्किनुपर्ने धार्मिक मान्यता रहेको छ ।
सामान्यतया नवरात्र नौ दिनसम्म मनाइने भएपनि यस वर्ष तिथिको घटबढले अष्टमी दुई दिन परेकाले घटस्थापनाको एघारौँ दिनमा विजयादशमी परेको हो । विजयादशमीका दिन दुर्गा भवानीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्त्व राख्दै आएको छ ।
देशका विभिन्न स्थानमा विजयादशमीकै दिन टीका लगाउने चलन रहे पनि कतिपय परिवारमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । दशैँका अवसरमा घरमा बुबाआमा तथा परिवारका ज्येष्ठ सदस्यबाट टीका र जमरा लगाएपछि मावली, ससुराली तथा अन्य आफन्तकहाँ पुगेर आशीर्वाद लिने चलन पनि प्रचलित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?