चन्द्रागिरि–७ मा पुनर्निर्मित वनदेवी मन्दिर उद्घाटन, खानेपानी ट्याङ्की पनि सञ्चालनमा
काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ मा रहेको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको वनदेवी मन्दिर पुनर्निर्माणपछि उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारको १० लाख रुपैयाँ आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको मन्दिरको बागमती प्रदेश सरकारका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरले उद्घाटन गर्नुभएको हो ।
मन्दिर उद्घाटन गर्दै मन्त्री आलेमगरले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई विकासको अभिन्न अंगका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले स्थानीयस्तरमा रहेका मठमन्दिर, देवदेवीका थान तथा ऐतिहासिक सम्पदाले समुदायको पहिचान, मौलिक संस्कृति र सामाजिक एकतालाई जीवन्त राख्ने उल्लेख गर्दै तिनको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
आफू अस्वस्थ अवस्थामा रहे पनि आफ्नो क्षेत्रका विकास निर्माणका काममा सहभागी हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै मन्त्री आलेमगरले प्रदेश सरकारले स्थानीय आवश्यकता र जनताको हितलाई केन्द्रमा राखेर विकासका काममा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका आयोजना जनताको जीवनस्तर सुधार्ने, स्थानीय आवश्यकता पूरा गर्ने र समुदायको दीर्घकालीन हितमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले नगरपालिकाले अघि सारेको ‘ऐतिहासिक, सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ को परिकल्पना साकार पार्न वनदेवी मन्दिरजस्ता सम्पदाको संरक्षण र विकासले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उपप्रमुख श्रेष्ठले स्थानीय सम्पदाको संरक्षण, पूर्वाधार विकास र नागरिकको जीवनस्तर सुधार गर्ने कार्यमा नगरपालिकाले आगामी दिनमा पनि आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभयो ।
वनदेवी मन्दिरको पुनर्निर्माणले स्थानीय धार्मिक आस्थाको संरक्षणसँगै सांस्कृतिक गतिविधि सञ्चालन र भावी पुस्तामा मौलिक परम्परा हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय सम्पदाको संरक्षण र आधारभूत पूर्वाधार विकासलाई एकसाथ अघि बढाउँदा चन्द्रागिरिको सांस्कृतिक पहिचान थप सुदृढ हुने विश्वास गरिएको छ ।
यसै अवसरमा बागमती प्रदेश सरकारको २० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको खानेपानी ट्याङ्कीको पनि उद्घाटन गरिएको थियो । धार्मिक सम्पदाको संरक्षणसँगै खानेपानीजस्ता आधारभूत आवश्यकतासँग सम्बन्धित पूर्वाधार निर्माणले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा वनदेवी गौचरण खैजेडी भजन समूहले भजन प्रस्तुत गरेको थियो भने समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?