आज महानवमी पर्व मनाइँदै, नवदुर्गाको पूजाआराधनासँगै कोतपूजा गरिने
काठमाडौं । बडादशैँको नवौँ दिन आज देशभर महानवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । आश्विन शुक्ल नवमीका अवसरमा नवदुर्गा भवानीको विशेष पूजाआराधना गरिनुका साथै विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा दशैँघरमा धार्मिक विधिअनुसार पूजा सम्पन्न गरिँदै छ । यस वर्ष महाअष्टमी तिथि दुई दिन परेकाले आज महानवमीका धार्मिक कर्म गरिन लागिएको हो ।
महानवमीका दिन घटस्थापनामा राखिएको जमरा तथा अन्य पूजासामग्रीसहित देवीको आराधना गरिन्छ । दशैँघर, कोत र शक्तिपीठहरूमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गरिनुका साथै परम्पराअनुसार पशुबलिसहित विशेष पूजा गर्ने चलन छ । पशुबलि नदिने तथा शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवल चढाएर देवीको पूजा गर्ने गर्छन् ।
धार्मिक मान्यताअनुसार मार्कण्डेय पुराणमा महानवमीका दिन चामुण्डा देवीले रक्तबीज नामक राक्षसको वध गरेको प्रसङ्ग उल्लेख छ । यही मान्यताका आधारमा महानवमीलाई देवी शक्तिको आराधना र दुष्ट प्रवृत्तिमाथिको विजयसँग जोडेर हेर्ने गरिन्छ । आज नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिन्छ । कतिपय स्थानमा कन्यालाई देवीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने परम्परासमेत रहेको छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष आराधना गरिन्छ ।
महानवमीका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्न भक्तजनको चहलपहल बढ्ने गर्छ । यसै दिन विभिन्न कोतमा कोतपूजा तथा निशानापूजा गर्ने परम्परा छ । हनुमानढोका दरबारसहित नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना र कोतपूजा गरिन्छ । महानवमीसँगै बडादशैँका प्रमुख धार्मिक अनुष्ठान सम्पन्न हुने भएकाले यस दिनलाई विशेष महत्त्वका साथ लिने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?