तिथिवृद्धिले आज पनि महाअष्टमी, हनुमानढोकामा राति कालरात्रि पूजा
काठमाडौं । यस वर्ष नवरात्रमा तिथिवृद्धि भएकाले आज सोमबार पनि महाअष्टमीका धार्मिक कर्म गरिँदै छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएपछि आज पनि दशैँघर तथा पूजाकोठामा महाअष्टमीकै विधिअनुसार पूजा गर्नुपर्ने भएको हो ।
समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले नवरात्रको नवौँ दिन परे पनि आज महाअष्टमीसँग सम्बन्धित धार्मिक कर्म दोहोर्याउनुपर्ने जानकारी दिनुभयो । धार्मिक मान्यताअनुसार देवीको साधना र आराधनाका लागि एक दिन थपिँदा विशेष फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ ।
यद्यपि, अष्टमीको रात गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै रात गर्नुपर्ने व्यवस्था स्वीकृत पात्रोमा उल्लेख छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले तलेजुका पुजारीको परम्परा र पञ्चाङ्ग निर्णायक विकास समितिसँगको परामर्शअनुसार हनुमानढोकामा राज्यका तर्फबाट गरिने विशेष कालरात्रि पूजा भने आज सोमबार राति गरिने जानकारी दिनुभयो । दरबारमा अष्टमीको पूजा सम्पन्न गरेपछि अर्को दिन महानवमीका धार्मिक कर्म गर्ने परम्परालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको उहाँले बताउनु भयो ।
हनुमानढोकास्थित दसैँघरमा आइतबार सामान्य महाअष्टमी पूजा गरिएको थियो भने मुख्य पूजा आज गरिने जनाइएको छ । महाअष्टमीको अवसरमा हनुमानढोकामा १०८ पशुबलिसहित विशेष पूजाआराधना गर्ने परम्परा रहेको छ । यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले नवरात्रको धार्मिक गणना पनि सामान्य वर्षभन्दा फरक भएको छ । विजयादशमीमा १० रात्रिका जमरा लगाउने अवस्था बनेको धार्मिक जानकारहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?