काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ स्थित गखःचा खोलामा सरसफाइ गरिएको छ । थानकोट सिटी अफ ड्रिम र एसिजवको संयुक्त आयोजनामा वडा कार्यालयको सहयोगमा खोलाको सरसफाइ गरिएको हो ।
बडादशैँ, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसहित संचालन गरिएको अभियानमा खोलाबाट प्लास्टिक, बोतल, कपडा तथा विभिन्न प्रजातिका रुखलगायतका फोहोर संकलन गरी निकालिएको थियो ।
चन्द्रागिरि–४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले वडालाई स्वच्छ र सफा राख्नु सबैको दायित्व भएको बताउँदै वडाले प्रत्येक वर्ष सरसफाइ अभियान संचालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय युवाहरू वातावरण संरक्षण र सरसफाइजस्ता सामाजिक काममा सक्रिय हुन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
वातावरण अभियन्ता ईश्वर लामाले घरबाट निस्कने फोहोर उचित व्यवस्थापन नगरी खोलामा फाल्ने प्रवृत्तिले बस्तीको शौन्दर्यमा असर पर्दैै गएको बताउनुभयो । खोलाको माथिल्लो भागदेखि नै सरसफाइ गर्न सके तल्लो क्षेत्रसमेत सफा राख्न सहयोग पुग्ने उल्लेख गर्दै उहाँले घरबाट निस्कने फोहोर घरमै व्यवस्थापन गर्न र खोलामा जथाभावी नफाल्न स्थानीयलाई आग्रह गर्नुभयो ।
सरसफाइ कार्यक्रममा स्थानीय युवा तथा आयोजक संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?