काठमाडौं । नेपालीहरुको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम बढेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउनका लागि घटस्थापनादेखि आज बिहानसम्म ३ लाख ४८ हजार ३ सय १४ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु काठमाडौँबाट बाहिरिएका छन् । काठमाडौँबाट दशैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन् ।
यस्तै, हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ लिएका छन् । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किनेक्रम हरेक वर्ष बढ्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?