काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः संचालनमा आएका छन् । नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न स्थान जोड्ने ती पुल मर्मत गर्न करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका योजना प्रमुख सहसचिव शंकर बुढाथोकीले बाढीले ११ वटा पुलमा ठूलो क्षति पुर्याएको थियो भने सातवटामा सामान्य क्षति पुगेको थियो । बाढीले कतिपय पुलका लट्ठा बटारिएका, डेक तथा बिम बगाएका र छेउका सुरक्षा जालीमा क्षति पुगेको थियो ।
धेरै क्षति भएका पुलमा बटारिएका लट्ठा सोझ्याउने, ह्यान्डरेलका केबल फेर्ने, स्टिलका डेक तथा बिम जडान गर्ने र सुरक्षा जाली पुनःनिर्माण गर्ने काम गरिएको कार्यालयले जनाएको छ । सामान्य क्षति भएका पुलमा आवश्यक मर्मतसम्भार गरेर संचालनमा ल्याइएको सहसचिव बुढाथोकीले जानकारी दिनुभयो ।
बृहत् मर्मत गरिएका पुलमध्ये नुवाकोटको बेलकोटगढी र तारकेश्वर क्षेत्र तथा धादिङका गल्छी, सिद्धलेक र बेनीघाट रोराङ जोड्ने पुल छन् ।
त्यस्तै, नुवाकोटको विदुरसँग जोडिने जिलिङस्थित पुल तथा गोरखा र धादिङ जोड्ने पुलहरू पनि मर्मत गरिएका छन् । यी पुलले नदी वारपार गर्ने स्थानीय बासिन्दालाई आवतजावतमा सहजता प्रदान गर्दै आएका छन् ।
सामान्य मर्मत गरिएका पुलमा गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ जोड्ने बादरे पुल, धादिङका बिहानी पम्प, मलेखु, बेल्खु भुतिया र महादेवस्थान पुल तथा गोरखा–चितवन जोड्ने कुरिनटार (लेवाटार) र फिस्लिङ पुल रहेका छन् ।
बाढीबाट क्षतिग्रस्त पुल संचालनमा आएसँगै नदी वारपार गर्न स्थानीय बासिन्दाले भोग्दै आएको कठिनाइ कम हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?