काठमाडौं । नवरात्रको छैटौँ दिन आज देशभरका दशैँघर तथा पूजा कोठामा नवदुर्गामध्ये छैटौँ स्वरूप कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । दुर्गा पक्षको आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने वैदिक सनातन परम्परा छ ।
पौराणिक मान्यताअनुसार कात्यायनी देवीले देवकार्य पूरा गर्न कात्यायन ऋषिको आश्रममा अवतार लिएकी थिइन् । उनको सुन्दर रूपबाट प्रभावित ऋषिले उनलाई पुत्रीका रूपमा स्वीकार गरेपछि कात्यायनी नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । नवरात्रका अवसरमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ । यस अवधिमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गर्छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, कलङ्कीमाई, बगलामुखीलगायत शक्तिपीठमा भक्तजन पूजा तथा दर्शनका लागि पुग्ने गर्छन् । उपत्यकाबाहिरका पलाञ्चोक भगवती, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, बागलुङ कालिका, विन्ध्यवासिनी, बडीमालिका र उग्रतारालगायत धार्मिक स्थल पनि दशैँका प्रमुख आस्थाका केन्द्र हुन् ।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीमा देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ । कतिपय स्थानमा कुलपरम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म टीका तथा जमरा लगाउने चलन छ। यसरी धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडिएको बडादशैँ नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?