काठमाडौं । कथाकार डा. नवराज रिजालद्वारा लिखित लघुकथा कृति ‘बेचैन मन’ सडक विमोचन अभियानको १८औँ श्रृंखला लोकार्पण गरिएको छ । प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा गरिएको लोकार्पण कार्यक्रममा साहित्यकारको कृतिले समेटेका विषयवस्तु, सामाजिक यथार्थ र समसामयिक सन्दर्भको विषयमा चर्चा गरिएको थियो ।
भट्टराईले सकारात्मक सोच र दृष्टिकोणका साथ लेखिएको कृतिको प्रशंसा गर्दै साहित्यले समाज र समयका विविध पक्षलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । भाषा आयोगका माननीय डा. पुष्करराज भट्टले कृतिमा देशको परिस्थिति र परिवेशका विषय अभिव्यक्त भएको उल्लेख गर्दै कथाकार रिजालको साहित्यिक सक्रियताको चर्चा गर्नुभयो ।
लघुकथाकार ध्रुव मधिकर्मीले रिजालको लेखनशैली सबल रहेको उल्लेख गर्दै उहाँका लघुकथाले समसामयिक विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
त्यस्तै, कथाकार रामकुमार पण्डित र शेखर अर्यालले कृतिमाथि आफ्ना धारणा राख्दै पुस्तकका विषयवस्तु र साहित्यिक पक्षबारे चर्चा गर्नुभयो ।
सडक विमोचन कार्यक्रमका संयोजक साहित्यकार बद्रीप्रसाद ढकालले अभियानको १८औँ श्रृंखलासम्म आइपुग्दा प्राप्त साथ र सहयोगप्रति आभार व्यक्त गर्नुभयो । कृतिकार डा. रिजालले आफूले जीवनमा भोगेका र देखेका घटनालाई लघुकथामार्फत प्रस्तुत गरेको बताउँदै त्यसको मूल्यांकन र प्रतिक्रिया दिने जिम्मेवारी पाठकमा रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार राजाराम बर्तौला, डा. छायादत्त न्यौपाने, डा. योगी दयानाथ, विदुर गौतम, माधव नेपाल, शरद प्रधान, विमल भौकाजीलगायतका साहित्यकार तथा साहित्यप्रेमीको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?