पालुङ–हेटौंडा सडकखण्ड अबरुद्ध, हजारौं यात्रु बीच सडकमै अपलपत्र
काठमाडौं । मकवानपुरको पालुङ–हेटौंडा सडकखण्ड अबरुद्ध हुँदा काठमाडौंबाट छुटेका सयबढी यात्रुवाहक बससहित हजारांै यात्रुहरु ३६ घण्टादेखि अलपत्र परेका छन् ।
यात्रुहरू थाहा नगरपालिका–४, सिमभञ्ज्याङदेखि तल हेटौँडा पुग्ने जङ्गलको बीचमा अलपत्र अवस्थामा छन् । स्थानीय निकाय र मकवानपुर जिल्ला प्रशासन कार्यालयको प्रभावकारी समन्वय नहुँदा यात्रुहरू खान र उपयुक्त शौच गर्नबाट समेत वञ्चित भएका छन् ।
जङ्गलमा नेटवर्कविहीन अवस्थामा अलपत्र परेका यात्रुमध्ये बालबालिका, सुत्केरी महिला र बृद्धबृद्धाहरू लामो समयदेखि जाममा परेका कारण बिरामी पर्न थालेका छन् । उक्त विषयलाई लिएर थाहा नगरपालिका १, ओखरबजारदेखि पालुङबाट मकवानपुरसम्म यात्रा गर्दा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सडक खुलाउन पहल भएको नभएको यात्रूहरुले गुनासो गरेका छन् ।
यातायात आवागमनको वैकल्पिक बाटो पालुङ सडकखण्डको चौडाइ सानो र घुमाउरो भएका कारण दुवैतर्फको आवागमन ठप्प भएको हो । यात्रुवाहक र मालवाहक सवारी पास नहुँदा शनिबार बिहान ६ बजेदेखि करिब ९ घण्टासम्म र अवरुद्धपछि अपराह्न ३ बजे सवारी अघि बढेका थिए । तर, उपयुक्त खाना र शौचालय नहुँदा यात्रुहरू भोकै बस्न बाध्य छन् ।
हाल सिमभञ्ज्याङदेखि तल करिब एकैतर्फी १२० वटा यात्रुवाहक बस आगमनको पर्खाइमा छन् । सोही सडकमा १८ देखि २२ चक्के मालवाहक सवारी विपरीत दिशाबाट काठमाडौंतर्फ जाने क्रममा पनि जाम बढेको छ । मकवानपुरको उक्त बाटोमा समय अनुसार खोल्ने र बन्द गर्ने गरिएकाले निर्धारित समयमा यात्रु गन्तव्यमा पुग्न नसकेको बताइएको छ । अझै कच्चीबाटो ३४ किलोमिटर बाँकी रहेको जानकारीमा आएको यात्रुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?