काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाएको छ । बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आइतबार बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए । गाउँपालिका–३ का बजार क्षेत्रमा समेत क्षति पुगेको उहाँले बताउनुभयो ।
बाढीको जोखिम बढेपछि सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिनुभयो ।
बाढीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको तथा घर तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?