बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा, सुरक्षित यातायात चुनौतीपूर्ण
काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडकको मर्मत अन्तिम चरणमा पुगे पनि नियमित र सुरक्षित यातायात संचालनमा भने चुनौती देखिएको छ ।
असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले २०२ किलोमिटर लामो सडकका ५० भन्दा बढी स्थानमा क्षति पुर्याएको थियो भने कालीगण्डकी नदीको कटानले १० स्थानमा सडक बगाएको थियो ।
म्याग्दीको कुनौटा भिर र पोखरेबगरस्थित पुलको पहुँचमार्गमा मर्मतपछि अत्यावश्यक सवारीसाधन आवतजावत गर्न थालेका छन् । तर भासिएका सडक सम्याउने, कटान भएका ठाउँमा मर्मत गर्ने र पहिरो पन्छाउने काम बाँकी नै छ ।
सडक योजनाका प्रमुख तेजस्वी शर्माले आइतबारसम्म मर्मत पूरा गरी सोमबारदेखि नियमित यातायात संचालन गर्ने लक्ष्य राखिए पनि सडकको अवस्था पूर्णरूपमा सहज नहुँदासम्म दुर्घटनाको जोखिम रहेकाले सावधानी आवश्यक रहेको बताउनु भयो ।
सडक क्षतिले कोरलानाकाबाट सामान बोकेर आएका ५ सय भन्दा बढी कन्टेनर म्याग्दी र मुस्ताङका विभिन्न स्थानमा रोकिएका छन् । सडक मर्मत र यातायात व्यवस्थापनका लागि अत्यावश्यक सेवा, मालवाहक तथा स्थानीय सवारीसाधनलाई प्राथमिकता दिने तयारी गरिएको छ ।
प्रशासनले सडक सहज नहुँदासम्म घुमघामका लागि मुस्ताङ जाने पर्यटकलाई यात्रा केही दिन पछि सार्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?