काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर हल्ला भएजस्तो सरकार कमजोर नरहेकाले नढल्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकार अहिले ढल्छ, दसैंमा ढल्छ, तिहार र छठपछि ढल्छ भन्ने बाहिर आएको हल्ला सम्भव नरहेको बताउँदै सरकार ढल्छ भन्नेहरु नै ढल्ने दाबी समेत गरेका छन् । लामिछानेले देश बनाउने अभियानमा सबै दललाई साथै लिएर अघि बढ्ने पनि बताए ।
सरकारको शैली र नियत सही रहेको बताउँदै उनले परिवर्तनको मुद्दामा रास्वपाले नेतृत्व गरिरहेको बताए । दलीय सहकार्यका लागि रास्वपा जहिले तयार रहेको बताउँदै सभापति लामिछानेले देश परिवर्तनको मुद्दामा सबैलाई साथ हिँड्न आव्हान पनि गरे ।
रास्वपा नेतृत्वको सरकारले मुलुकको लोकतन्त्र कमजोर हुन नदिने, मुलुकको अर्थतन्त्रलाई कमजोर बन्न नदिने सभापति लामिछानेले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । जनताले भोट हालेर ठुलो पार्टी बनेको रास्वपा परिवर्तनको मुद्दामा सदैव गम्भीर रहने बताउँदै लामिछानेले जनताको मन जित्नेगरी काम गर्ने र लोकतन्त्रको हुर्मत लिने काम नगर्ने दाबी समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?