महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील भएर आउने उपसभापति शर्माको दाबी
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताएका छन् । शर्माले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताए ।
महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक संकटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने शर्माको भनाइ छ ।
फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको पनि बताए । राष्ट्रिय हितका महत्वपूर्ण विषयमा राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा शर्माको जोड छ ।
जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि शर्माले जोड दिएका छन् । देशभित्र र देशबाहिर रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने भन्दै उहाँले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने शर्माले बताए ।
नयाँ सरकार गठन भए पनि सामाजिक सञ्जालमा एकअर्काप्रति आक्रोश बढिरहेको उल्लेख गर्दै शर्माले अहिले नेपाली समाजमा संवाद, सद्भाव र एकताको आवश्यकता रहेको औल्याउँदै भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नुपर्ने उनको तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?