काठमाडौं । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गका रूपमा रहेको काँकरभिट्टा–लौकही सडकलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी भइरहेको स्तरोन्नतिको कामले गति लिएको छ । एसियन हाइवेको मापदण्डअनुसार निर्माण भइरहेको सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत कालोपत्र भइसकेको छ ।
निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजना कार्यालयले तोकिएको समयभित्र मुख्य कामको ९० प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य लिएको छ । आयोजना प्रमुख सुनिलबाबु पन्तले मौसम अनुकूल हुँदा दैनिक करिब ७०० देखि ८०० मिटर सडक कालोपत्र गर्ने काम भइरहेको जनाएका छन् ।
सडक निर्माणको तुलनामा पुल निर्माणको प्रगति भने कम छ । आयोजनाले पुलतर्फ करिब ३१ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् । तीन सय मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुलको काम पनि अघि बढिरहेको छ । पश्चिमतर्फ रतुवा, बक्राहा र लोहन्द्रा नदीमा समेत पुल निर्माण भइरहेको छ ।
आयोजनाका अधिकांश साना कल्भर्ट निर्माणको काम सकिएको छ । अहिले सडक स्तरोन्नति, कालोपत्र, पुल तथा ओभरपास निर्माणलाई समानान्तर रूपमा अघि बढाइएको छ । चारआली चोक, बिर्तामोड र चारपानेमा मोटरेबल ओभरपास बनाउने योजना छ ।
चारआलीको वन क्षेत्रमा वन्यजन्तुको आवतजावतलाई सहज बनाउन हात्तीका लागि अन्डरपास निर्माण गर्ने तथा पैदलयात्रीका लागि विभिन्न स्थानमा क्रसिङ बनाउने योजना पनि आयोजनामा समेटिएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा अघि बढेको परियोजनाअन्तर्गत काँकरभिट्टादेखि झापाको सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वी खण्ड स्तरोन्नति भइरहेको छ । उक्त खण्ड निर्माणका लागि करिब १० अर्ब ६ करोड ९४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
काँकरभिट्टा–लौकही सडक स्तरोन्नति पूरा भएपछि पूर्वी नाकाबाट हुने आवागमन तथा व्यापारिक गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत निर्माण भइरहेको यो मार्ग पूर्वी नेपाललाई क्षेत्रीय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?