काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाएपछि बस सडकबाट तल नालामा खसेको प्रहरीले जनाएको छ । बसमा चालकसहित १८ जना सवार थिए ।
दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँच जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइते १० जनालाई उद्धार गरी डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको छ । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना भने सकुशल रहेका छन् । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?