काठमाडौं । स्वास्थ्य सेवा संचालनका आधारभूत मापदण्ड पूरा नगरेका मेचीनगरका दुई अस्पताल र दुई क्लिनिकमा नगरपालिकाले सिलबन्दी गरेको छ । अनुगमनका क्रममा अस्पताल नवीकरण नगरी संचालनमा रहेको तथा क्लिनिक र प्रयोगशाला दर्ताबिना चलाइएको भेटिएपछि कारबाही गरिएको हो ।
चारआलीको मनोकामना अस्पताल र धुलाबारीको शिखर अस्पताल एक वर्षदेखि नवीकरणबिनै संचालनमा रहेको पाइएको नगरपालिकाले जनाएको छ । पटक–पटक दर्ता तथा नवीकरणका लागि जानकारी गराउँदा पनि बेवास्ता गरेपछि सिलबन्दी गरिएको हो ।
त्यस्तै, प्रतिभा जमुना मेडिकल र न्यू मिलन मेडिकलमा दर्ताबिनै क्लिनिक तथा प्रयोगशाला संचालन गरेको भेटिएपछि सिल गरिएको छ । प्रतिभा जमुना मेडिकलबाट म्याद गुज्रिएका औषधिसमेत बरामद भएको छ । रोहन मेडिकल र मनकामना फार्मेसीबाट पनि म्याद गुज्रिएका औषधि भेटिएपछि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
स्वास्थ्य संस्था कानुनी प्रक्रिया पूरा गरेर मात्र संचालन हुनुपर्ने भएकाले नगरपालिकाले अनुगमनलाई निरन्तरता दिने जनाएको छ । स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएकाले दर्ता, नवीकरण र औषधिको गुणस्तरमा गरिएको लापरबाही सामान्य प्रशासनिक कमजोरी नभई सार्वजनिक सुरक्षासँग जोडिएको विषय हो ।
दर्ता तथा आवश्यक मापदण्ड पूरा गरेपछि मात्रै सिलबन्दी खोलिने नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?