काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि छुट्टै वडा अधिवेशन सुरु गर्दैछ । संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाइरहेकै बेला देउवा पक्षले समानान्तर रूपमा संगठन निर्माणको प्रक्रिया थालेपछि कांग्रेसभित्रको नेतृत्व विवाद तल्लो तहसम्म पुगेको छ ।
देउवा पक्षले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाएको र आज वडा अधिवेशन गर्ने जनाएको छ । त्यसपछि पालिका, प्रदेशसभा क्षेत्रीय, जिल्ला हुँदै मंसिर २१–२३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उसको कार्यतालिका छ ।
देउवा पक्षले वडा तहको संरचनामै युवा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था रहेकाले तल्लो तहको अधिवेशनले पुराना राजनीतिक अनुहारसँगै नयाँ पुस्तालाई संगठनभित्र स्थापित हुने अवसर दिएको छ ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मानेर अघि बढेको दाबी गरेको छ भने संस्थापन पक्षले आफ्नो निर्धारित प्रक्रियाअनुसार महाधिवेशन अघि बढाइरहेको छ । यसले कांग्रेसको आगामी नेतृत्व चयनसँगै पार्टीको वैधानिकता र संगठनात्मक एकताको प्रश्नलाई पनि केन्द्रमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?