मुस्ताङमा जलवायु सम्मेलन सुरु, ४२१ स्थानीय तह र ३६ जिससका जनप्रतिनिधि सहभागी
काठमाडौं । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु भएको छ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ । सम्मेलनमा भाग लिन ४ सय २१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन् ।
सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकाले जानकारी दिएको छ । सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य सङ्घसस्थालाई परिचालन गरिएको बताइएको छ ।
सम्मेलनलाई भव्य बनाउन गाउँपालिकाका पाँचै वडाका सडक र बस्तीमा स्थानीय मौलिक कला, संस्कृतिसहितको ध्वजापतका झुन्ड्याएर सजिसजाउ गरिएको छ । गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकहरुमा सडक बत्ती जडान गरी झिलीमिली पारिएको छ । आगन्तुक अतिथिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वंयसेवक परिचालन गरिएको छ ।
खानेपानी र इन्टरनेट, विद्युत् सेवालाई समस्या नहुनेगरी पूर्वतयारी गरिएको छ । यसैगरी सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई सहज पारिएको छ । जोमसोम कभर्डहलमा हुने सम्मलनमा स्टेज, साउन्ड सिस्टम, ब्यानरसहित आवश्यक सजावट गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिनुभयो । सम्मेलनस्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ ।
यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्वन्धी घोषणापत्र जारी गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?