कृष्णभीरको नयाँ ट्रयाक निर्माण अन्तिम चरणमा, दुईतर्फी यातायात चलाउने तयारी
काठमाडौं । बाढी र पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको छ । सडक विभागले असोज १ गतेदेखि यस खण्डमा दुईतर्फी यातायात संचालन गर्ने तयारी गरेको छ ।
सडक भासिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । नयाँ ट्र्याकबाट आइतबार परीक्षणका रूपमा केही सवारीसाधन पार गराइएको थियो । परीक्षण सफल भए पनि ग्राभेल बिछ्याउने र पानी निकासको काम बाँकी रहेकाले तत्काल नियमित यातायात संचालन नगरिएको सडक विभागले जनाएको छ ।
निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले अहिले ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको जनाएका छन् । निर्माणस्थलमा आवश्यकताअनुसार हेभी उपकरण र मजदुर परिचालन गरिएको छ । नयाँ ट्र्याक करिब ३ सय मिटर लामो र सात मिटर चौडा रहेको छ ।
कृष्णभीर पुरानो पहिरोको जोखिम रहेको क्षेत्र भएकाले नयाँ ट्र्याक संचालनमा आएपछि पनि सावधानी आवश्यक रहेको सडक विभागले जनाएको छ । थप पहिरो वा प्राविधिक समस्या नआए असोज १ देखि नियमित रूपमा दुईतर्फी यातायात संचालन गर्ने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?