काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर शिव–पार्वतीको पूजा आराधना र व्रत बसेर मनाइँदैछ । तीजमा विशेषगरी महिलाहरूले भगवान् महादेवको पूजा गर्दै पारिवारिक सुख, शान्ति तथा कल्याणको कामना गर्ने धार्मिक परम्परा छ ।
धार्मिक मान्यताअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न वाग्मती नदी किनारको गौरीघाटमा कठोर तपस्या गरेकी थिइन् । आजकै दिन निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई पति रूपमा पाएको विश्वासमा हरितालिका तीजमा व्रत बस्ने चलन सुरु भएको पौराणिक मान्यता छ ।
‘हरितालिका’ शब्द संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट बनेको मानिन्छ । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ । पार्वतीलाई उनका साथीहरूले हरण गरी सुरक्षित स्थानमा लगेर तपस्या गर्न सहयोग गरेको प्रसङ्गसँग जोडेर यो पर्वको नाम हरितालिका रहन गएको धार्मिक व्याख्या पाइन्छ ।
तीजको व्रत बसेमा मनोकामना पूरा हुने तथा परिवारमा सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । यद्यपि व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई समेत ध्यान दिनुपर्ने धर्मशास्त्रविद्हरूको सुझाव छ ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले तीजको व्रत निराहार, जलाहार र फलाहार गरी तीन प्रकारले लिन सकिने बताउनु भयो । स्वास्थ्यले साथ दिनेले निराहार, त्यसो गर्न नसक्नेले जलाहार र जलाहार पनि सम्भव नभए फलाहार गरेर व्रत बस्न सकिने उहाँको भनाइ छ । उहाँले व्रत गर्दा स्वास्थ्यलाई जोखिममा नराखी आत्मरक्षालाई प्राथमिकता दिनुपर्ने धर्मशास्त्रीय मान्यता रहेको बताउनुभयो ।
धर्मशास्त्रीय दृष्टिले हरितालिका व्रत महिला मात्रले गर्नुपर्ने नभई पुरुषले समेत लिन सक्ने उल्लेख पाइन्छ । तर सामाजिक रूपमा भने तीजको व्रत महिलाले श्रीमान्को दीर्घायु र पारिवारिक सुखका लागि बस्ने पर्वका रूपमा बढी चिनिँदै आएको छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले व्रत बस्ने पुरुषले विधुर नहुन, विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्न तथा अविवाहित महिला–पुरुषले आफूले चाहेको गुणसम्पन्न जीवनसाथी प्राप्त गर्न सक्ने धार्मिक मान्यता छ ।
धर्मशास्त्रमा व्रतलाई सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी विभिन्न प्रकारमा व्याख्या गरिएको छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले तीजको व्रत नित्य र काम्य दुवै प्रकृतिको मानिने गरिएकोले यो पर्वलाई महिलाको मात्र पर्वका रूपमा सीमित गरेर बुझ्न नहुने उल्लेख गर्नुभयो ।
तीजको अघिल्लो दिन दर खाने चलन छ । आइतबार व्रतालुहरूले विभिन्न मीठा परिकार खाएर भोलिपल्टको व्रतका लागि तयारी गरेका थिए । तीजका अवसरमा महिलाहरूले गीत तथा नृत्यमार्फत आफ्ना सुख–दुःख, पीडा र सामाजिक अनुभव व्यक्त गर्ने परम्परा पनि रहँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?