नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र स्टार हस्पिटलबीच उपचारसम्बन्धी सम्झौता
काठमाडौं । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति (NTTA) र स्टार हस्पिटल लिमिटेड, सानेपा–२, ललितपुरबीच सडक दुर्घटनाका घाइते तथा समिति आबद्ध सदस्यहरूको उपचारलाई सहज, सुलभ र व्यवस्थित बनाउने उद्देश्यले महत्वपूर्ण सम्झौता भएको छ ।
समितिका अध्यक्ष अमर श्रेष्ठसहित कार्यसमिति पदाधिकारीहरूको उपस्थिति तथा स्टार हस्पिटलका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा दुई पक्षबीच उपचार सेवा व्यवस्थापनसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार सडक दुर्घटनामा परी घाइते भएका व्यवसायी तथा सम्बन्धित व्यक्तिहरूको उपचारमा सहजता ल्याउने तथा उपचार प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ । साथै, समितिका व्यवसायी सदस्य, कार्यसमिति पदाधिकारी, सल्लाहकार तथा कर्मचारीलगायतलाई अस्पतालबाट उपलब्ध हुने उपचार सेवामा सहज तथा सुलभ व्यवस्था मिलाउने सम्झौतामा उल्लेख छ ।
सम्झौताले सडक दुर्घटनामा घाइते हुने ट्रिपर तथा ट्रक व्यवसायी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई समयमै उपचार सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । समिति र अस्पतालबीच भएको सम्झौता व्यवसायी तथा उनीहरूका परिवारजनको स्वास्थ्य सुरक्षाका दृष्टिले समेत महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?