काठमाडौं । छापा संचारमाध्यमलाई उपलब्ध गराइँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न छापा माध्यम बचाउ सुझाव कार्यदलले आग्रह गरेको छ । कार्यदलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।
कार्यदलका प्रतिनिधिले एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीसँग भेट गरी छापा संचारमाध्यमको पछिल्लो अवस्था, आर्थिक समस्या र संचालनमा देखिएका चुनौतीबारे जानकारी गराएका थिए । उनीहरूले अहिलेको कमजोर आर्थिक अवस्थाबीच लोककल्याणकारी विज्ञापनको रकम घटाउँदा छापा माध्यम थप संकटमा पर्ने बताएका थिए ।
कार्यदलले विज्ञापनबाट प्राप्त हुने आम्दानीमा कमी आउँदा धेरै छापा माध्यमलाई नियमित प्रकाशन संचालन गर्न कठिन भइरहेको जनाएको छ । यस्तो अवस्थामा लोककल्याणकारी विज्ञापनको रकमसमेत घटाइए संचारमाध्यमको प्रकाशन निरन्तरतासँगै त्यहाँ कार्यरत पत्रकार तथा अन्य कर्मचारीको रोजगारीमा समेत असर पर्न सक्ने अवस्था छ ।
छापा माध्यमको संरक्षण र दीर्घकालीन संचालनका लागि सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिनुपर्ने कार्यदलको माग छ । साथै विज्ञापन वितरणमा समानता र पारदर्शिता कायम गर्दै संचारमाध्यमलाई टिक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश कमिटीका तर्फबाट गठित कार्यदलका संयोजक दामोदर दवाडीसहितका प्रतिनिधिले अध्यक्ष ओलीसँग संचार क्षेत्रको दिगोपनाका लागि आवश्यक नीतिगत व्यवस्थाबारे समेत छलफल गरेका थिए ।
अध्यक्ष ओलीले आफू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै लोककल्याणकारी विज्ञापनको विषयमा पनि सकारात्मक धारणा व्यक्त गरेको कार्यदलले जनाएको छ । छापा माध्यमको आर्थिक संकट गहिरिँदै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनलाई सञ्चारमाध्यम संचालनका लागि महत्वपूर्ण आधारका रूपमा हेरिएको छ । कार्यदलले त्यसको रकम कटौती गर्ने निर्णय पुनर्विचार गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?