काठमाडौं । हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज) को अवसरमा भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथको दर्शन गर्न सकिने जनाएको हो । बिहान मन्दिर खुलेदेखि नै पूर्व, उत्तर र दक्षिण ढोकामा पारदर्शी जाली राखी दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ ।
यसैगरी दर्शनार्थीहरुका लागि चार वटा रुट तय गरिएको छ । मित्रपार्क, उमाकुण्डतर्फबाट जाने दर्शनार्थीहरु बासुकीनागको उत्तरतर्फको ढोकाबाट, गौशाला–जयबागेश्वरीतर्फबाट जाने दर्शनार्थीहरु जयबागेश्वरीबाट देब्रेतर्फको बाटोबाट १ नम्बर गेट अगाडि राखिएको अस्थायी आकाशेपुल हुँदै, सिनामंगलतर्फबाट जाने दर्शनार्थीहरु तीलगंगा पर्यटन काउण्टरसँगै रहेको गेट, राम मन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुल पार गरी पूर्व मुहार र पिंगलास्थानतर्फबाट जाने दर्शनार्थीहरु पिंगलास्थानको ढोका हुँदै दक्षिण मुहारको दर्शन गरी फर्किने व्यवस्था गरिएको छ ।
मन्दिर बाहिर पाँच वटा लाइन र मन्दिर प्रवेश गरेपछि ८ वटा लाइनमा विभाजन गरी दर्शन गराइने पनि कोषले जनाएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरको प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिने छ । यस्तै दुई दिन अगाडिदेखि नै मन्दिर आसपासका क्षेत्रमा मासु तथा मदिरा निषेध गरिएको छ । वृद्ध, अशक्त, शारीरिक अपांगता भएका र स–साना बालबालिका भएका दर्शनार्थीलाई प्राथमिकता पूर्व सहज दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
भोलि विशिष्ट व्यक्तिहरुका लागि कोषको कार्यालय परिसरमा सवारी पार्किङको व्यवस्था गरिएको र अन्यका लागि भण्डारखाल, सिफलचौर, वनकाली पार्किङ र तीलगंगा आँखा अस्पताल अगाडिको खाली स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । उमाकुण्ड पार्किङ क्षत्रे भने भोलि बन्द गरिने कोषले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?