कृष्णभिरमा यातायात खोल्ने तयारी, असोज १ गतेसम्म सञ्चालन हुने अपेक्षा
काठमाडौं । कृष्णभिरमा राजमार्ग नै भासिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज १ अघि नै खुलाउने तयारी भएको छ । त्रिशूली नदीको निरन्तर कटानले भासिएको राजमार्गसँगैको भिर कटान गरेर खुलाउन लागिएको हो । पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाले भिरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुला गरिने जानकारी दिनुभयो ।
अहिले भित्ता काट्ने काम सकिएको र राजमार्गको ग्रेड (स्लोभ मिलाउने) काटेर सर्फेस (सतह) मिलाउन बाँकी छ । अनि कम्प्याक्सन (थिचेर मजबुत बनाउने) गर्दै ग्राबेल गरेपछि राजमार्ग सञ्चालनमा ल्याउने आयोजनाको तयारी छ । असोज १ गतेसम्म राजमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि आयोजनाले जनाएको छ ।
भदौ १४ गतेदेखि राजमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौंमा एलपी ग्यास तथा खाद्यान्नलगायत वस्तु ढुवानीमा समस्या भएको छ । वैकल्पिक सडकबाट पर्याप्त खाद्यान्न तथा ग्यास ढुवानी हुन नसकेपछि काठमाडौँमा यसको समस्या देखिएको छ । राजधानीको समस्यालाई दृष्टिगत गर्दै राजमार्ग खुला भएपछि पहिलो पटक खाद्यान्न, एलपी ग्यासका बुलेट, औषधीका गाडी, एम्बुलेन्स जस्ता सवारी साधनलाई प्राथमिकतामा राखिने बताइएको छ ।
कृष्णभिरको पहिरोले संघीय राजधानी काठमाडौंलाई तराईका जिल्ला तथा मध्यपहाडी क्षेत्रसँगको सडक सम्पर्कविच्छेद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?