काठमाडौं । चन्द्रागिरि नगरपालिका–५ ले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । वाणस्थलीस्थित ज्वालादेवी मन्दिर परिसरमा संचालन गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा आँखासम्बन्धी समस्या भएका ४५ जना, सुगर र रक्तचापसम्बन्धी समस्या भएका ५९ जनाले स्वास्थ्य जाँच गराएका थिए ।
आँखा परीक्षणका क्रममा पाँच जनामा मोतिबिन्दु र दुई जनाको आँखामा मासु पलाएको समस्या देखिएको वडा स्वास्थ्य शाखाका प्रमुख सीता बानियाँले जानकारी दिनुभयो । पहिचान भएका स्वास्थ्य समस्याको आवश्यक उपचार वडा कार्यालयको समन्वयमा गरिने उहाँले बताउनुभयो ।
त्यस्तै, सुगर तथा रक्तचाप परीक्षण गराएका ५९ जनामध्ये १४ जनामा रक्तचाप केही बढी देखिएको थियो । परीक्षणका क्रममा १० जनामा सुगरको मात्रा बढी देखिएको बानियाँले जानकारी दिनुभयो ।
वडा सदस्य महेन्द्र महर्जनले ज्येष्ठ नागरिकमा देखिन सक्ने स्वास्थ्य समस्या समयमै पहिचान गरी आवश्यक उपचार तथा परामर्शको व्यवस्था गर्न वडाले स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?