काठमाडौं । मकवानपुर प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर क्षेत्रबाट आउँदै गरेका दुई सवारीसाधन जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय मनहरीको टोलीले विशेष सूचनाका आधारमा बा।प्र। ०१–०२५ च ०८७७ नम्बरको कारलाई नियन्त्रणमा लिएर जाँच गरेको थियो । कारको सिटमुनि लुकाइएको अवस्थामा १३ पोका गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
प्रहरीले उक्त कारलाई ग। २ च ६१५ नम्बरको पिकअपले ‘स्कटिङ’ गर्दै खरङ्गातर्फ ल्याइरहेको थियो । प्रहरीको टोलीलाई देखेपछि पिकअप चालक भाग्ने प्रयास गरे पनि उनलाई नियन्त्रणमा लिइएको थियो ।
पक्राउ पर्नेमा कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा निवासी ५६ वर्षीय देवनारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ निवासी ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन् ।
प्रहरी नायब उपरीक्षक काफ्लेले विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा गाँजासहित दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।
बरामद गाँजा ओसारपसारमा उनीहरूको संलग्नता तथा घटनासँग सम्बन्धित अन्य विषयबारे दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?