काठमाडौं । काभ्रेपलाञ्चोकमा ६ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । सरकारले भूमिहीनको समस्या समाधानका लागि प्रक्रिया अघि बढाएपछि जग्गा पाउने आशामा उनीहरूले निवेदन दिएका हुन् ।
जिल्लास्थित नापी कार्यालयले हालसम्म ६ हजार ३२९ भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको छ । जिल्ला भूमि समस्या समाधान समितिमा निवेदन परेका हुन् ।
नापी कार्यालयका प्रमुख अशोक भुसालले प्राप्त निवेदनमध्ये भूमिहीन सुकुमवासी ७०७, भूमिहीन दलित १८३ र अव्यवस्थित बसोबासी ५ हजार ४३९ जनाको विवरण प्रविष्ट भइसकेको छ ।
सरकारले गत जेठको तेस्रो साता नयाँ जिल्ला भूमि समस्या समाधान समिति गठन गरेपछि समितिले जिल्लामा रहेका भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो ।
समितिले जिल्लास्थित संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसँग छलफल गरी विगतमा छुटेका भूमिहीनको निवेदन माग गरेको जनाएको छ ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असार मसान्तभित्र जिल्लामा रहेका भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको विवरण संकलन गरी निर्देशानुसार विवरण प्रविष्टिलगायतका काम भइरहेको बताउनुभयो ।
उहाँले सरकारले एक हजार दिनभित्र भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिसक्ने लक्ष्य लिएकाले सोहीअनुसार जिल्लामा पनि काम अघि बढाइएको जानकारी दिनुभयो ।
विगतमा छुटेका भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको विवरण संकलन र प्रविष्ट गर्ने काम भइरहेको अधिकारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?